निशुल्क सेवामा रहेका उदाहरणीय डा. भोम्पा राइ
मेचीनगर अनलाइन
|
Thursday, September 23, 2010
|
0 comments
चेतन अधिकारी दमक दशक यता बेलडांगी रोडमा रहेको गजुरमुखी औषधी पसलभित्र एकजना डाक्टर बिरामीका जांच्नमा ब्यस्त छन् । बिहादेखि सांझसम्म उनलाई यही क्लिनीकमा भेटिन्छ । हरदम छातीमा स्टेथस्कोप लगाएर बिरामीको उपचारमा ब्यस्त रहेका ति डाक्टर भोम्पा राई हुन् ।
अन्य शरणार्थीलाई जस्तो राईलाई त्यहांको सरकारले लखेटेको होइन । हुलका हुल नेपाली भाषीहरुलाई खेद्न थालेपछि राई शरणार्थीहरुको स्वास्थ्यको चिन्ता गर्दै आफू नेपाल आएको बताउछन् । राई भूटानी शरणार्थीहरुको स्वास्थ्य परीक्षण गरेको पैसा लिदैनन् । त्यही भएर यहां शरणार्थी बिरामीहरुको भिड लागि नै रहन्छ । राईका अनुसार यहां आउने बिरामीहरु मध्ये ७० प्रतिशत शरणार्थी हुन्छन् । ‘जायजेथा गुमाएर आएकाहरुले दाम तिरेर जचाउन सक्दैनन्’ राई भन्छन ‘उनीहरुको जांच शुल्क नलिदा पनि धेरै राहात हुन्छ ।’ आफनो दैनिक खर्च नेपाली बिरामीहरुबाट आएको जांच शुल्कले चलाउने गरेको राईले बताए ।
शरणार्थीहरु राईलाई अभिभावक मान्ने गर्दछन् । भूटानी शरणार्थी शिबिर बेलडांगी दुईका बिर्ख बहादुर गुरुङ पिसाब पोल्ने समस्या भएर राईकहां आएका छन् । उनका बाबुले डाक्टर राईको प्रशंशा गर्दै यहां ल्याएर चिनाइदिएका थिए । ‘तीन बर्ष देखि म केही बिरामी हुनासाथ यही आउछु’ गुरुङले भने ‘हामी भूटानीहरु वहांलाई अभिभावक जस्तो मान्छौ ।’ डाक्टर राई पनि शरणार्थीहरुलाई आफना सन्तान सरहकै ब्यबहार गछनर् ।
भारतको गुहाटी मेडिकल कलेजमा सन् १९७५ सालमा एमबिबिएस सकेर डाक्टरको उपाधी लिएर राई भूटान फर्किएका थिए । त्यहां उनले थिम्पू जेनेरल हस्पिटल र हुका हाइडो्र प्रोजेक्टमा डाक्टरको रुपमा काम गरे । त्यसबेला नेपालबाट मजदुरी गर्न गएका सयौं नेपालीहरुलाई उपचार गरेको उनी सम्झन्छन् । पछि ढाकाबाट सन् १९८०मा सर्जनको उपाधी लिएको डाक्टर राईले सुनाए ।
जतिबेला भूटानी शासकले नेपाली भाषीहरुलाई लखेटिरहेको थियो, त्यती बेला डाक्टर राई हुका हाइडो्र प्राृेजेक्टमा काम गर्ने मजदुरलाई उपचार गर्ने काममा खटिएका थिए । नेपालीभाषीहरुलाई हुलका हुल लखेट्न थालेपछि उनले भूटान बसिरहन उपयूक्त ठानेनन् । उनलाई आज पनि लाग्छ आफनो स्वेच्छाले त्यो मुलुक नछोडेको भए भूटान सरकारले उनलाई लखेट्ने साहस गर्ने थिएन । ‘म त भूटानको सम्पती थिए । एक मात्र सर्जन भएपछि राजाले मलाई सम्मान साथ राख्थ्यो’ चिम्सा आंखा बनाउदै राईले भने ‘तर लाखौं नेपाली भाषी नेपालको माइखोला किनारमा हैंजा र महामारीले सोतर भएका छन् भन्ने सुनेपछि मेरो मनले प्रोजेक्टको जागिर भन्दा शरणार्थी छाप्रोमा रमाउने निणर्य गर्यो ।’
अरु शरणार्थी आएका झण्डै बर्षदिन पछि नेपाल आइपुगेका राईले त्यसबेला अलपत्र अवस्थामा रहेको माइ किनारमा रहेका शरणार्थीहरुको स्वास्थ्यमा काम गर्ने निधो गरे । शिविर नभएको, खान बस्न ठेगान नभएको, दुषित पानी खानु परेको र मौसम फेरिएकोले हजारौं शरणार्थीहरु एकैदिन बिरामी पर्थे । राई सम्झन्छन् ‘माइ किनारमा जीबनजल र सिटामोल नपाएर एकैदिन हाम्रँ २९जना शरणार्थी मरेका छन् । ’
शरणार्थीको यो कहाली लाग्दो मृत्यूदरले राईको सजर्न उपाधीलाई हरबखत गिज्यायो ।त्यही उनले आफूसंग शरणागत भएर आएका अन्य डाक्टरहरु बेदनीधी खतिवडा, पूर्ण क्षेत्री, छबि र दिलमाया हरुलाई साथ लिएर शरणार्थीको उपचारमा कम्मर कसेर लाग्ने निधो गरे । त्यसबेला शरणार्थीहरुलाई हेर्नका लागी यूएनएचसिआर नेपालमा आइसकेको थिएन । ‘हामीले त्यसबेला भूटान हेल्थ एसोसिएसन संस्था गठन गरेर भूटानी जनतालाई बचाउन ठाउंठांउमा औषधी चन्दा माग्यौ ’राईको अभियानमा सक्रिय सहभागी डाक्टर खतिवडा सम्झन्छन् ‘ति दिनमा धेरै शरणार्थीलाई बचाउन सकेकोमा अहिले पनि हामीलाई गौरव लाग्छ ।’
पछि माइधारबाट शरणार्थीहरुलाई शिविर खडा गरेर बिकेन्द्रित गरियो । त्यसपछि डाक्टर राईले स्वास्थ्यको अलावा देश हराएका शरणार्थीको मनोबल उठाउनका लागी उनीहरुसंगै बसे । दुखः सुख बांडे । कुनैदिन देश फर्कन सकिएला भनेर ढाडस दिन छाडेनन् ।सन् १९९५मा शरणार्थीकै स्वास्थ्य उपचारका लागी दमकमा आएको आम्दा अस्पतालमा सजर्नको रुपमा उनलाई बोलाइयो । बर्षदिन जति आम्दा माफर्त उनले शरणार्थीको उपचार गरे । जागिरको बन्धनले गर्दा शरणार्थीका अरु सवालमा समय दिन नसकेपछि उनले त्यो जागिर छोडे । त्यसपछि दमकमा डेरा लिएर त्यहीको एक फार्मेसीमा बिरामी जांच गर्दै शरणार्थीका स्वदेश फिर्तीका मामिलामा कुटनितीक लबिङ गर्दै गए । यो समयमा उनी भूटानी शरणार्थी स्वदेश फिर्ती समितीमा (बिआरआरआरसि) आबद्ध भइसकेका थिए ।
करिब दशक अघि देखि उनी शरणार्थीको चहलपहल हुने चोक बेलडांगी रोडको गजुरमुखी औषधी पसलमा बसेका छन् । अहिले उनी बिआरआरआरसिका अध्यक्ष पनि हुन् । ‘हामीलाई यहां आउदा दुई कुरा फाइदा हुन्छ’ उपचारका लागि आएका बेलडांगीकै भगिरथ शिवाकोटीले भने ‘एक त उपचार पनि निशुल्क दोस्रो शरणार्थीका बिषयमा भइरहेका नयां घटना पनि थाहा हुन्छ ।’
यूएनएचसिआरले एकतर्फी रुपमा शरणार्थीहरुलाई तेस्रो देश पुनस्थापना थालेको राईलाई मन परेको छैन । यो अभियानले उनकोमा जम्मा हुने बिरामी शरणार्थीको संख्या पनि घट्दै गएको छ । उनलाई सोझा शरणार्थीहरु अन्यौलपूर्ण अवस्थामा पश्चिमा मुलुक पुयाएर झन् बर्बाद गरे जस्तो लागिरहेको छ । बिरामीले घेरिएका राईले अन्तिममा एउटा प्रतिबद्धता गरे ‘जतीजना शरणार्थी शिवरमा रहन्छन् तिनीहरुलाई अन्तिम अवस्था सम्म निशुल्क स्वास्थ्य सेवा दिनु मेरो दायित्व हुनेछ ।’

0 comments
Trackback URL | Comments RSS Feed