प्रअ नियुक्तिमा तानातान
मेचीनगर अनलाइन
|
Sunday, September 5, 2010
|
0 comments
झापा, २१ भदौ / विद्यालय व्यवस्थापन समितिमा पहुँच बढाउँदै लगेको एकीकृत नेकपा माओवादी र शिक्षकहरुमा दह्रै प्रभाव कायमै राखेको नेकपा (एमाले) बीच निमित्त प्रधान अध्यापक नियुक्तिमा तानातान भइरहेको छ ।
धरमपुरको भानु माध्यमिक विद्यालयमा माओवादीले एमाले समर्थक निप्रअ भानु ढुंगानालाई पदमुक्त गरेर आफ्ना समर्थक तेजप्रसाद भट्टराईलाई नयाँ निप्रअ नियुक्त गरेपछि जिल्ला नै तात्ने गरी माओवादी र एमाले समर्थक शिक्षक संगठनबीच विवाद बढेको छ ।
ठुलो घटनाका रुपमा भानु मावि प्रकरणले चर्चा पाए पनि विगत एक वर्षदेखि उनीहरुबीच जिल्लाभर द्वन्द्व चर्केर गएको जानकारहरु बताउँछन् ।
शिक्षा ऐनले विधिसम्मत ढंगले निमित्त प्रअको नाम सिफारिस गरी पठाउने अधिकार व्यवस्थापन समितिलाई दिदै २०६६ वैशाख १० गते तहगत शिक्षक नै प्रअ हुनुपर्ने परिपत्र पठाएपछि तहगत प्रअ नियुक्ति गर्न माओवादी, एमाले र कांग्रेस समर्थित शिक्षक संगठनबीच होडबाजी शुरु भएको हो । कांग्रेस समर्थित नेपाल शिक्षक संघ यस विषयमा कम विवादित रह्यो । तर एमालेको नेपाल राष्ट्रिय शिक्षक संगठन र माओवादीको अखिल नेपाल शिक्षक संगठन (एन्टो) बीच भने कडा संघर्ष शुरु भएको छ । २ सयदेखि ५ सय रुपैयाँसम्म मासिक भत्ता बाहेक अन्य फरक सुविधा केही नभए पनि प्रअ नियुक्तिमा देखिएको होडबाजीका पछाडि राजनीतिक प्रभाव मुख्य कारण भएको प्रष्ट छ ।
धरमपुरको भानु माविमा १८ जना शिक्षक नेराशिसंतिर र ४ जिना एन्टोमा आवद्ध छन् । तर, व्यवस्थापन समिति एकलौटी पाएको माओवादीले नेराशिसंकै एक जना तेजप्रसाद भट्टराईलाई आफूतिर तानेर एन्टोले नयाँ निमित्त प्रअ बनाएको छ । नेराशिसले एन्टो र व्यवस्थापन समितिले गरेको नियुक्ति अमान्य भएको बताउँदै आएको छ ।
राजनीतिक विवादकै कारण घेराबारीको वुद्ध निमाविमा विगत ६ महिनादेखि विद्यालय व्यवस्थापन समिति र प्रअ कालेन्द्र राजवंशीबीच बैठक समेत हुन सकेको छैन ।
तोपगाछीस्थित शहीद धर्मभक्त उच्च माविका प्रधानाध्यापक नारायणप्रसाद गौतमलाई व्यवस्थापन समितिमा माओवादी समर्थकको बाहुल्य हुनासाथ पदबाट हटाइयो । हाल उमाविमा काजी पौडेल प्रधानाध्यापक छन् ।
हटाइएका गौतम एमाले समर्थित शिक्षक संगठनका हस्ती एवम् शिक्षक युनियनका जिल्ला अध्यक्ष हुन् । त्यहाँ तत्कालीन प्रअ गौतम र विद्यालय व्यवस्थापन समितिको विवादका कारण झण्डै २ महिना तनाव र केही दिन विद्यालयनै बन्द भएको थियो ।
यही सिलसिलामा कांग्रेस समर्थक अध्यक्ष भएको चारआलीको शहीद दशरथ उच्च माविमा पनि विद्यालय व्यवस्थान समिति र प्रअबीचको टकरावले २/३ महिनासम्म तनाव उत्पन्न भयो ।
प्रअ रमेश सापकोटा र शिक्षकहरुले अध्यक्ष लालबहादुर थेवेलाई नमान्ने भने पछि समस्या चर्किएर जिल्ला शिक्षा कार्यालय पुगेको थियो । जिशिकाले पनि निर्णय दिन नसकेपछि हालै दुवै पक्षबीच व्यवस्थापन समितिमा एमाले र जनमुक्ति पार्टीको प्रतिनिधि समावेश गर्ने शर्तमा समझदारी भएको छ । यसअघि समितिमा माओवादी र कांग्रेसको मात्र प्रतिनिधित्व थियो भने प्रअ सापकोटा एमाले समर्थक हुन् ।
शैक्षिक क्षेत्रमा बढ्दो राजनीतिक विवादले जिल्लाका अधिकांश विद्यालयमा समस्या बढेको शिक्षा कार्यालयका कर्मचारीहरु बताउँछन् ।
तर, शिक्षक संगठनहरु भने विवादका बेला जिशिका रमिते बन्ने गरेको आरोप लगाउँछन् ।
जनता उच्च माध्यमिक विद्यालय गौरादहमा प्रअ वुद्धिमान कार्की र अध्यक्ष चिरञ्जीवि दाहालबीचको शीतयुद्धका कारण २०६६ असोजमा शिक्षक नियुक्तिका लागि लिइएको परीक्षाको अन्तरवार्ता हालसम्म भएको छैन । कार्की एमालेका र दाहाल कांग्रेसका हुन् ।
स्रोतका अनुसार परीक्षामा आफूले पास गराउन खोजेको परीक्षार्थी लिखितमै अनुत्तीर्ण भएपछि अध्यक्ष दाहालले मौखिक अन्तरवार्ता नै रोकिराखेका छन् । यो विवाद बढेर पुनरावेदन इलामसम्म पुगेको थियो ।
प्रअ र अध्यक्षबीच बोलचालै लामो समयदेखि बन्द हुँदा जिल्ला शिक्षा कार्यालयले कुमरखोदको सरस्वती प्राविमा आर्थिक कारोबार गर्ने जिम्मेवारीबाट दुवैलाई हटाएर सहायक शिक्षक र समितिका सदस्यलाई दिनु परेको छ । त्यहाँ सियाप्यारे चौधरी प्रअ र प्रभुनारायण यादव अध्यक्ष छन् । जनता प्रावि हल्दिबारीमा माओवादी समर्थित व्यवस्थापन समितिले कांग्रेसका श्रीप्रसाद शिवाकोटीलाई हटाएर माओवादीका कालीबहादुर थाम्सुहाङलाई निमित्त प्रअ नियुक्ति गरेको छ । जबकि थाम्सुहाङ शिवाकोटी भन्दा जुनियर हुन् ।
त्यसो त मौका पर्दा एमाले समर्थित व्यवस्थापन समितिले कांगेसका जगन्नाथ वराललाई रिटायर्ड हुन ४ महिना बाँकी रहँदा दमकको सिंहदेवी माविको प्रअबाट हटाइदियो ।
गरामनीको लक्ष्मी निमावि, डाँगीबारीको गौरीशंकर माविमा माओवादी समर्थक व्यवस्थापन समितिमा हावी हुनासाथ आफ्नै पक्षका शिक्षकलाई प्रअ नियक्ति गरेको देखिन्छ ।
एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष नेत्र पाठक माओवादी समर्थित एन्टोले विधि मिचेर बल मिचाइका भरमा प्रअ नियुक्ति गर्न थालेको बताउँछन् । उनले शैक्षिक क्षेत्र राजनीतिक विवादले ग्रस्त रहेको भने स्वीकार गरेका छन् ।
भानु मावि धरमपुरको प्रसंग कोट्याउँदै पाठकले विवादले राजनीतिक स्वरुपधारण गरेकोले अब माओवादी पार्टीसँगै वार्ता गर्नु पर्ने अवस्था आएको बताए ।
माओवादी समर्थित अखिल नेपाल शिक्षक संगठन (एन्टो) का जिल्ला अध्यक्ष सीताराम अधिकारीले प्रभाव खस्किदै गएपछि एमाले समर्थकहरुले माओवादीलाई आरोप लगाउन थालेको दावी गरे । उनले सातवटै शिक्षक संगठन बसेर निस्कने निर्णयलाई भानु मावि प्रकरण र अन्य विवादमा आफ्नो संगठनले स्वीकार गर्ने बताएका छन् ।
सबै आस्थाका शिक्षकहरुको छाता संगठन नेपाल युनियनका जिल्ला अध्यक्ष नारायणप्रसाद गौतम माओवादी समर्थित शिक्षक संगठन एन्टो र माओवादीको वर्चस्व रहेको विद्यालय व्यवस्थापन समितिले विधि मिचिदिदा समस्या जन्मिएको बताउँछन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed