• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

चाडपर्व आउँछन् रुवाएर जान्छन् ।

राजु अधिकारी - त्यो बिहान, झापाको आकास सफा र चम्किलो थियो। सावित्रा निरौला, ७०, कौसीमा बसेर टोलाइरहेकी थिइन्। हातमा तातोपानीले भरिएको गिलास अँठ्याएकी थिइन्। अचानक सडकको कल्याङमल्याङले उनी झस्किन्। 'आत्था! खुइली पो हाल्यो त,' पोलेको जिब्रो नाकको टुप्पोतिर तन्काउँदै गिलास कौसीको छेउमा राखिन्। कम्पाउन्डबाहिर सडकमा उनका आँखा अडिए। एक हुल महिला हलक्क हुर्केका पाँहेला जमरा बोकेर बाटो हिँडिरहेका रहेछन्। ', टिका भित्रेछ,' उनले मनमनै गुनिन्। उनको अनुहार अँध्यारो भएर आयो। जमरा जति टाढिँदै थिए, उनका आँखा उति रसाउँदै थिए। 
जमरा छेकिए, आँसु खसे।

'जे छैन त्यसैको आस बढी हुने,' धोतीको फेरले आँसु पुछ्दै निरौलाले भनिन्, 'चाडबाडका बेला झन् बढी आसलाग्दो र'छ।'परिवारको सम्झना उनका आँखाअगाडि तस्बिर बनेर नाचिरहेका छन्। ६० वर्ष भयो परिवारका सदस्यलाई यसरी नै सम्झेर बिताएको। पारिवारिक निकटता उनले पूरै गुमाएकी छन्। 
भर्खरै ओझल परेको जमरा बोकेका महिलाको हुलले उनलाई धेरै कुरा सम्झायो। मिठोमसिनु खाने, वर्षौंदेखि फेर्न नपाएको एकसरो नयाँ लुगा लगाउने तिर्सनाका मुना उनको मनमा जागे। 
यस्ता तिर्सनाका मुना वर्षेनी पलाउँछन् र मर्छन्। 
सतासीधामको माइधारस्थित लक्ष्मीनारायण मन्दिरमा अढाइ दसकदेखि आश्रयरत निरौलालाई ती इच्छा पूरा गर्ने उपाय अहिलेसम्म सुझेको छैन। 
कौसीबाटै उठेर उनले आफ्नो कुटीतिर नजर दौडाइन्। त्यहाँ दुई पाथी कनिका बाँकी थियो। आँसु तरक्क चुहियो। उनी थुचुक्क भुइँमा बसिन्। 
'
त्यही कनिकाले दसैं टारेँ,' उनले आँसु पुछिन्। 
धोतीको फेर भिज्यो। आँखा दसैंको टिकाजस्तो रातो देखियो।
'म अभागिनीलाई कालले पनि लाँदो रहेनछ,' कोजाग्रत पूर्णिमाको अघिल्लो दिन कुटीको त्यही कौसीमा टोलाइरहेकी उनी एक्लै बर्बराइन्, 'परिवारसँग बस्न, मिठो खान र राम्रो लाउन भाग्य नै चाहिने रहेछ।' 
आमनेपालीमा खुसीको बहार ल्याउने चाडपर्व निरौलाका लागि मुटु चहर्‍याउने घाउ बन्ने गर्छन्। अरू पिँढी र आँगनमा निस्केर हाँस्दा उनी कुना पसी आँसु पुछिरहेकी हुन्छिन्। अरूलाई उनी सकभर रमाइलो गर्न आग्रह गर्छिन्, तर त्यही रमाइलो उनी हेर्न सक्दिनन्। 
इर्ष्याले होइन, डाहले पनि होइन। परिवारको सम्झनाले।
'चाडपर्वका बेला अरूले रमाइलो गरेको देखिन्छ, तर मैले सधैं रुनुपर्छ,' पीडाको पन्तुरो फुकाउँदै उनी भक्कानिइन्, 'चाडपर्व जति आउँछन्, मलाई रुवाएरमात्रै जान्छन्।'
...
'म सधैं हाँसिरहन्छु,' ९ वर्षको हुँदा निरौला भन्थिन् रे, 'कहिल्यै रून्नँ।'
विसं २००६ साल। इलाम मंगलबारे, निरौलाको घर। घरमा दाजुभाइ र दिदीबहिनीसँग ९ वर्षकी उनी रमाएर खेल्थिन्। घरमा धन्दापातदेखि घाँसदाउरासम्मको काममा सघाउन थालिसकेकी थिइन्, आमालाई। 
'
त्यो मंसिरको कुनै एक बिहान हुनुपर्छ,' उनले ६१ वर्षअगाडिको सम्झना गरिन्। आँगनमा काका र अरू आफन्त गफ गरिरहेका थिए। उनले कान त्यतैतिर लगिन्। थाहा पाइन्, त्यहाँ 'कन्यादान' को कुरा चलिरहेको थियो। 
'
समयमै छोरीको कन्यादान नगरे कसरी वैकुण्ठबास पाइन्छ,' उनका अभिभावक जिद्दी गर्दै थिए। अन्ततः उनको कन्यादानको निष्कर्ष निक्लियो। 
, केही दिनमै उनलाई कुटुम्बको जिम्मा लगाइयो। 
'
बल्ल थाहा पाएँ मेरो त बिहे पो भको रैछ,' ६ दसकअघिको घटना सावित्राले सम्भि्कइन्, 'तर, कोसँग भयो, अब मैले के गर्नुपर्छ, केही था थिएन।' 
बेहुली बनेर पतिको घर भित्रिएको दस दिनपछि उनी माइत फर्किइन्। बिहे भए पनि उमेर बढेपछि मात्र घर पठाउने त्यसबेलाको चलन थियो। त्यसपछि दुलही बनेर भित्रिएको घरमा उनी कहिल्यै जान पाइनन्। 
किन त?
'
बिहेको वर्षदिन नबित्दै उहाँको (पति) निधन भयो,' उनी फेरि सुकसुकाइन्। 

पतिको निधनसँगै उनको गलाको पोते खोसियो। सिउँदोको सिन्दुर पुछियो। अभिभावक र छिमेकीबाट नयाँ परिचय पाइन् - 'विधवा' 
'
त्यसयता चाडपर्वमा रमाएको थाहा छैन,' दस वर्षको बाल्यावस्थामै विधवा बनेकी निरौलाले सुनाइन्, 'त्यही भएर चाड पर्व आ'को, 'को थाहै हुन्न।' 
पतिको मुखाकृति त के, नामठेगानासम्म भेउ नपाउँदै एक्ली बनेकी उनले केही समय माइतीमै बिताइन्। जीवन समाप्तिको मूल्यमा आफ्नो जीवनका सारा समय निरश बिताएकी निरौलाको साथ विस्तारै उनैका आमा बुबाले पनि छाडे। उनको जीवनमा कष्ट थपिँदै गयो। 
माइती पनि उनको आफ्नो रहेन। 
'
मातापिता बितेपछि मलाई साहरा दिने कोही भएन,' नेपाल र भारतका विभिन्न आश्रमहरूमा शरण लिएको बताउने निरौलाले भनिन्, 'त्यसपछि कुटीको बास भो।'झन्डै २५ वर्षअघि भारतबाट नेपाल फर्किएपछि उनले माइधारको लक्ष्मीनारायण मन्दिरमा आश्रम रहेको थाहा पाइन्। 
, यहाँ आइपुगिन्। 
'
म आउँदा अरू थुप्रै थिए,' अहिले पनि १९ जना आफूजस्तै परिवारबाट एक्लिएका महिला रहेको बताउँदै निरौलाले चित्त बुझाउने बाटो खोजिन्।
'
सबैको दुःख मेरैजस्तो रैछ। कोहीकोही त छोराछोरी भएर पनि बसिरहेका छन्। उनीहरूलाई देख्दा चाहिँ कोही नभएको मैले दुःख पाउनु नौलो होइन भन्ने लाग्छ।'

सबैको पीडा उस्तै
सन्तान हुनेहरूको पीडा पनि निरौलाको भन्दा फरक छैन। 
सन्तानले नहेरेपछि निरौलासँगै आश्रममा बसिरहेकी छन्, इलाम लामीडाँडाकी खगिन्द्रा बुढाथोकी। उनी दुई छोराकी आमा हुन्। 
'
दसैं तिहार र अरू चाडबाडका बेला छोराहरूको साह्रै याद आउँछ,' सन्तान भएर पनि बेसहारा बनेकी उनले भनिन्, 'तर, छोरो ढुंगाको मन भको रैछ।' 
उमेर ढल्किँदै गएपछि शरीर गल्दै जान्छ रे। त्यसैले होला, सानोतिनो बिमारले पनि कहिलेकाहीँ धेरै सताउँछ। त्यतिबेला उनलाई लाग्छ, 'यतिखेर छोरो आइपुगिदिए हुन्थ्यो नि!' 
प्वाँख झरेको पंक्षीजस्तो बुढाथोकीको इच्छा मनमै कुँजिएको धेरै भयो। छोरा फर्किने कुनै छाँट छैन। ६४ वर्षीया बुढाथोकीलाई आफ्नो बिहे भएको तिथिमिति राम्ररी हेक्का पनि छैन। कुन उमेरमा आफ्नो कन्यादान भयो, उनी बताउन सक्दिनन्। उनलाई यत्ति थाहा छ, '२०२१ सालमा पतिको देहान्त भयो।' 
त्यसपछि त भर्खरै हुँर्कदै गरेका दुई छोराको सम्पूर्ण दायित्व उनीमाथि आइलाग्यो। उनीहरूकै अनुहार हेरेर भविष्यको आसमा दुःखजिलो गरेर गाउँमा बसिन्। तर, पति वियोगको केही वर्ष नबित्दै उनको एउटा छोरो बेपत्ता भयो, जसको अवस्था अहिलेसम्म उनलाई अत्तोपत्तो छैन। 
'
एउटा छोरा घरबाट हिँडेदेखि बेपत्ता छ,' उनले भनिन्, 'अर्को घरजम गरेर धरानमा बसेको छ। तर, मलाई हेर्दैन।'

थाहै नपाई विधवा
२०२८ सालमा बनेको लक्ष्मीनारायण मन्दिरमा आश्रय लिएर बस्ने डेढ दर्जन वृद्धाहरूको जीवन कथा लगभग उस्तै छ। अनौठो संयोग - उनीहरूमध्ये अधिकांश बाल विधवा छन्। उनीहरूलाई बिहे भएको त कुरै छाडौं, विधवा बनेकोसमेत राम्ररी थाहा छैन। 
'
सात वर्षमा बिहे भको रे,' भुटानबाट आएकी ईश्वरी न्यौपाने, ८०, ले आफ्नो कथा सुनाइन्, 'दुई-तीन वर्ष नबित्दै विधवा भइस् भने, त्यहाँदेखि यत्तिकै बसेकी छु।' 
विडम्बना कस्तो छ भने, जसको निधनले उनीहरूलाई विधवाको पीडादायी परिचय दियो, ती मान्छेबारे उनीहरूलाई नै राम्रो सम्झना छैन। अभिभावकले विधवा भइस् भने, उनीहरूले सहजै स्वीकारे।
नातिनातिना खेलाउँदै आफ्ना सन्तानसँग आनन्दको दिन बिताउने उमेरमा कष्टदायी दिन गुजार्न बाध्य बनेका अधिकांश वृद्धाहरूलाई आफ्नो पतिको नामसमेत थाहा छैन। मन्दिरले दिने खाद्य सामग्री र बेलाबेला 'धर्म कमाउन' मन्दिर आइपुग्ने मनकारीहरूले दिने लत्ताकपडाको भरमा उनीहरूको धेरै दसक बितिसकेको छ। सामान्य औषधिउपचार मन्दिरले गरिदिन्छ। दीर्घरोगबाट पीडित वृद्धाहरूको दैनिकी भने ऐयाआत्थामै बित्ने गर्छ। 
'
खुट्टो दुखेर उभिनुहुँदैन,' लक्ष्मीनारायण मन्दिरमा सबभन्दा पहिले आएर बसेकी झापा चारपानेकी जमुनादेवी गौतम भन्छिन्, 'राम्रो ठाउँमा उपचार गरे ठिक हुन्थ्यो होला, कसरी गर्नु?' 
मन्दिर परिसरमा रहेका कुटीमा बस्ने यी महिलाको दिन बती कातेर र मन्दिरमा भजनकीर्तन गरेर बित्छ। कुनै अवसरमा धार्मिक महोत्सव हँुदा भक्तजनले दिने विभिन्न सामग्रीले उनीहरूको आवश्यकता टर्ने गरेको छ। 
मन्दिरका महन्त केशव आचार्यका अनुसार कुल सात विगाहा जग्गामध्ये मन्दिरको ४ विगाहामा खेती गरिन्छ। अँधियारले उत्पादनको आधा भाग लगेपछि बाँकी रहेको आधाले मन्दिर र आश्रयरत वृद्धाहरूको जीवन चलाउनुपर्छ।
यहाँ बसेका सबै महिला क्षेत्री र बाहुन समुदायका छन्। बेसाहाराहरू जोसुकैले यहाँ सहजै आश्रय पाउँछन्। जातका आधारमा विभेद छैन। 'आपसमा मिलेरै बसिएको छ,' २० वर्षदेखि मन्दिरमा बसिरहेकी जमुनादेवी भट्टराई भन्छिन्, 'त्यस्तो छोइछिटो छैन।'


न घर न परिवार
गोमादेवी बराल
यो मन्दिरमा बस्ने धेरैजना आफूलाई विधवा भन्छन्। मचाहिँ होइन। तर, मैले जानेदेखि श्रीमानलाई देखेकी पनि छैन। उनी मरेबाँचे अत्तोपत्तो छैन।
ताप्लेजुङ कटहरेको मिश्र परिवारमा म जन्मेँ। आठ वर्ष पुग्दा नपुग्दै बाआमाले गाउँकै बराल थरका मान्छेसँग बिहे गरिदिए। त्यतिबेला बिहे भएको पाँच-सात वर्ष माइतै बस्ने चलन थियो। त्यसैले म पनि माइतमै थिएँ। दुई वर्षपछि घरमा 'ज्वाइँ' हराए भन्ने कुरा चल्यो। घरबाट बजार हिँडेको मान्छे त्यसपछि कहिल्यै फर्केर आएनन्। उनी जुन दिनदेखि हराए, मेरो खुसी र रमाइलो गर्ने ठाउँ पनि त्यतिबेलै हराएछ। कहाँ गए, कसरी गए, के गर्दै होलान् कहिल्यै थाहा भएन। उनी नै नआएपछि मैले माइत घर छोडिनँ। तर, बाआमा पनि बितेपछि भने मलाई त्यो घर छोड्न कर लाग्यो। त्यहाँदेखि अहिलेसम्मको समय यसैगरी बितिरहेको छ। 
४० वर्षअघिदेखि म बेसाहराजस्तै छु। माइती घरबाट छुटेपछि पूजापाठ गरेर भए पनि गरिखान पर्‍यो भनेर भारतको वृन्दावन गएँ। त्यतैका अरू मन्दिरतिर पनि केही समय भौतारिएँ। ३० वर्षअघि माइधारको यो मन्दिर आइपुगेँ। मजस्तै दुःख पाएका, कोही नभएका अरू पनि रहेछन्। उनीहरूसँगै मिलेर बसेकी छु। न घर, न परिवार। केही ठेगान नहुँदा चाडबाडको रामरमाइलो गर्न मन नलाग्दो रहेछ। लागेपनि कसरी गर्नु र! चालीस वर्षका दसै, तिज, तिहारजस्ता चाडपर्व मेरा लागि सधैं खल्लो रह्यो। 
म अहिले ७० वर्षकी भएँ। सुनेअनुसार हराइरहेका मेरा श्रीमानको उमेर ८३-८४ वर्षको भयो क्यारे। जीउँदै छन् कि मरे, केही थाहा छैन। हराएका मान्छेको उमेर एक सय नपुगी काजकिरिया गर्नु हुँदैन भन्छन्। त्यसैले त्यस्तो गरिएको छैन। अब त आफ्नो उमेर पनि भरे हो कि भोलिजस्तो भइसकेको छ। दुईजनाकै अन्तिम कर्म एकैचोटि होलाजस्तो छ। तर, कोही नभएपछि कसले गर्छ र! 
त्यतिबेला सानैमा बिहे गरिदिने चलन थिएन भने मेरो यस्तो अवस्था हुन्थेनजस्तो लाग्छ। तर, त्यसको पनि के ठेगान र! त्यतिबेलाको चलनले गर्दा दुःख पाइयोजस्तो लाग्छ।
Source :- Nagariknews

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply