बल्ल चल्ने भए दक्षिणी भेगका सवारीसाधनहरु
मेचीनगर अनलाइन
|
Sunday, October 3, 2010
|
0 comments
बिर्तामोड, १८ असोज । दुई सातादेखि अवरुद्ध सुरुङ्गा– झापाबजार सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । लगातारको झरीले हिलाम्मे बनेको २२ किलोमिटर दूरीको सो ग्राभेल सडक यातायात व्यवसायीको पहलमा चार गाविसले मर्मत गरेपछि सञ्चालनमा आउने भएको हो ।
अमरपथ अन्तर्गतको सो सडक खण्डमा दैनिक छवटा बस चल्दै आएको भए पनि सडक जीर्ण र अत्यधिक खाल्डाखुल्डी भएपछि मध्य दक्षिण झापाका स्थानीयबासीको महेन्द्र राजमार्ग सँगको सम्पर्क विच्छेद भएको थियो । सडक निर्माण समितिका सचिव अरुण साहका अनुसार सो सडक अन्तर्गत पर्ने सुरुङ्गा, शरणामती, टाघनडुब्बा र कुमरखोद गाविसले सडक मर्मत गरेका हुन् । गाविसले आआफ्नो क्षेत्रमा पर्ने सडकका खाल्डा पुरेको साहले जानकारी दिए ।
यातायात व्यवसायी श्याम श्रेष्ठका अनुसार सुरुङ्ग गाविसले ३१ ट्रक र शरणामती गाविसले २५ ट्रक बालुवा र गिटी सहयोग गरेका हुन् । त्यस्तै, टाघनडुब्बा गाविसले २० हजार रुपैयाँ र कुमरखोद गाविसले १० हजार रुपैयाँ अर्थिक सहयोग गरेको श्रेष्ठले बताए ।
दसैँ तिहारको मुखमा किनमेलका लागि बजार आउने मुख्य सडक नै अवरुद्ध बनेपछि स्थानीयबासी चिन्तित थिए । ‘तर दैनिक बस कुद्ने भएपछि गाउँले अत्यन्त खुसी छन्’, टाघनडुब्बास्थित कामरटोली बजारका सागर अधिकारी भने ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed