मलेसियामा भब्यरुपमा दशैं मनाइदैं
मेचीनगर अनलाइन
|
Friday, October 15, 2010
|
0 comments
दिनेश कार्की क्वालालम्पुर । वातुहपातको क्यु ऊड कम्पनीमा कार्यरत वीना संग्रौला(सापकोटा) यस वर्षको दशैं पहिलो पटक प्रवासै मनाउने भएकी छिन् । झापा गोलडुब्बा–५ निवासी वीनालाई स्वदेशमै दशै मान्ने रहर भने नभएको होइन । तर, रोजगारीका लागि आजभन्दा ५ अगाडि मलेसिया आएपछि उनको त्यो रहर रहरमै सीमित बनेको हो । प्रवासमा कार्यरत श्रमिक, विद्यार्थी, व्यवसायी सबैको दशैं मान्ने तरिका वीनाका जस्तै नहुन सक्छ । तर, आ–आफ्नो अनुकुलता हेरी नेपालीहरुले विदेशमा दशैं मनाइरहेको खबर हामीले प्राप्त भएको छ । यसैबीच जेसिवाई हार्ड टेक्नोलोजि जोहोरका कार्यरत करिव ३ हजार नेपालीहरुले दशैंको तयारी गरेका छन् । कम्पनीले विदा नदिएपछि उनीहरुले दशैं राती मनाउने तयारी गरेको सोही कम्पनीमा कार्यरत एक श्रमिक तथा श्रम प्रतिनिधि अभिचन्द्र बिकले बताए । त्यस्तै सेलेङ्गरस्थित अल्टीमेट प्रिन्ट कम्पनीका कार्यरत ९ जना नेपालीरुले भने दशै मान्न नपाउने भएका छन् । उक्त कम्पनीमा कार्यरत विष्णु घिमिरेका अनुसार कम्पनीले विदा नदिने हुँदा दशैं मान्न नपाउने भएका हुन् । पेनाङमा कार्यतर कालीदास रेग्मीका अनुसार बलि दिएर परम्परागत ढंगले दशै मनाउने तयारीका साथ एक दर्जन बढी श्रमिकहरु जुटेका छन् । उनका कम्पनीमा सय भन्दा बढी नेपाली श्रमिकहरु कार्यरत छन् । त्यसैगरी क्यामरुन हाइलेण्डका विष्णु रोकाका अनुसार ३०÷४० जनाको समुह बनाएर उनीहरु दशैं मनाउने भएका छन् । कम्पनीले विदा नदिएका कारण उनीहरुले पनि राती नै दशैं मनाउने तयारी गरेको छन् ।
त्यसैगरी इपोस्थित ३ सय भन्दा बढी श्रमिकहरु कार्यरत रवर कम्पनी, कोलासेलेङ्गर स्थित २० जना श्रमिक कार्यरत ढुंगा कम्पनी, मलक्कास्थित बुकित रम्बाई एक काठ कम्पनीमा, मुहारको ग्रिसेकको १५० भन्दा बढी श्रमिक कार्यरत फर्निचर कम्पनी, बाकरी स्थित ३०० बढी श्रमिक भएको फर्निचर कम्पनीमा पनि हर्सोउल्लसा र विशेष तयारीका साथ दशै सम्पन्न हुँदैछ ।
मलेसियाको विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरु कुनै कम्पनीमा दशैं घटस्थापनाको दिन जमरा राखेर दशैंको शुरुवात गरी टिकाको दिन भब्य रुपमा दशैं मान्ने गरेको भेटियो । कतिपय कम्पनीमा कम्पनीका मालिकहरु समेत नेपालीकोहरुको पर्व दशैंमा सहभागी हुने, सर–सामाना कम्पनीकै तर्फबाट जुटाइदिने साथै निधारमा रातो टिका लगाउनेसमेत गरेको पाइन्छ । तर, अधिकांश कम्पनीहरुमा विदा नदिनाले गर्दा दशैं आयो कि गयो पत्तै हुँदैन । कतिपय प्रवासी नेपालीहरु भने कम्पनीमा कामका साथ–साथै विभिन्न संघ संस्थामा जोडिएर दशैं अवसरमा सांस्कृतिक, साहित्यिक, मनोरञ्जनात्मक खेल आदि लगायतका कार्यक्रम गरेर दशैं मनाउने भएका छन् ।
यसैवीच टिकाको दोस्रो दिन सोमबार क्वालालम्पुरको कोतारायमा ब्यपार÷व्यवसायीमा सम्लग्न नेपालीहरुले दशैं पर्वको आयोजना गरेका छन् । यहाँस्थित नेपाली व्यवसायी संघ, गैर आवासीय नेपाली संघ तथा नेपाल पत्रकार महासंघ शाखा मलेसियाको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा रात्री भोजको आयोजना गरी दशैं मनाउन लागिएको छ ।
दशैंको टिकाको दिन मलेसियाको साप्ताहिक विदा परेकोले व्यवसायीहरु आफ्नै पसल÷रेष्टुरेन्टमा ब्यस्त हुने भएकोले सोमबार कार्यक्रम राखिएको एक व्यवसायीले बताए । भेटघाट रेष्टुरेन्ट रावाङकी रेनुका गुरुङका अनुसार खसी काट्ने र आएका श्रमिकहरुलाई गाउँले खसी काटेर ब्यवस्थित ढंगले खुवाउने योजना रहेको बताइन् ।
मलेसियमा मात्र होइन रोजगार, अध्ययन, ब्ययवसायका लागि युएइ, साउदी अरब, कतार, कुवेत, ओमान, हङकङ, अमेरिका, भारत, सिङ्गापुर लगायतका देशहरुमा आ–आफ्नो अनुकुलता अनुसार दशैं मनाउइदै छ ।
Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed