स्वदेश फर्किएका मध्ये ३ सय ८ कामदारको पक्षमा मुद्दा दर्ता
मेचीनगर अनलाइन
|
Sunday, October 3, 2010
|
0 comments
एक स्थानीय निर्माणकम्पनी टाट पल्टेपछि घर फिर्ता पठाइएका नेपाली कामदारहरूलाई उनीहरूको वाँकी तलब एवं सेवासुविधा दिलाउनका लागि कतारस्थित नेपाली दूतावासले मुद्दा दर्ता गरेको छ । कम्पनी टाट पल्टेपछि घर फिर्ता पठाइएकामध्ये ३ सय ८ जनाको अख्तियारनामा सहितका कागजात प्राप्त भएकोले उनीहरूको हक स्थापनाका लागि दुतावासले मुद्दा दर्ता गरेको हो ।
सो कम्पनीले घर फर्काइएका सयौं कामदारमध्ये ५ सय ९ जना नेपाली थिए । नेपालीहरूमध्ये पनि २ सय १ जना भने अझैसम्म पनि सम्पर्कविहिन रहेको र उनीहरूको अख्तियारनामा सहितका कागजातको अभावमा मुद्दा दर्ता हुन सकेको छैन । उनीहरूसंग सम्पर्क कायम गर्न र कागजात झिकाउनका लागि परराष्ट्र मनत्रालय लगायत नेपालका विभिन्न निकायमर्फत पहल भइरहेको नेपाली दुतावासले जनाएको छ । कागजात प्राप्त भएको खण्डमा मुद्दा दर्ताका लागि अझैसम्म पनि समय रहेको राजदुत डा. सुर्यनाथ मिश्रले बताए ।
विगतमा दोहास्थित सो निर्माण कम्पनीमा कार्यरत नेपाली कामदारहरुलाई दुतावाससंग सम्पर्कमा आउन आग्रह गरिएकोमा ३ सय ८ जना सम्पर्कमा आएका थिए । दुतावासको समन्वयमा बैदेशिक रोजगार प्रवद्र्वन बोर्डले नेपालका राष्ट्रिय दैनिक समाचारपत्रहरूमा बाँकी बक्यौता नपाएका ५ सय ९ जनालाई सम्पर्कमा आउन दुतावासको आग्रहसहितको सार्वजनिक सुचना जारी गरेको थियो । परराष्ट्र र श्रम मन्त्रालयमा संकलित २ सय ८० जनाका कागजातहरू राजदुत डा. मिश्र स्वंयले दोहा ल्याएका थिए भने २८ जनाका कागजात पनि लगत्तै आइपुगेका थिए । कामदारको अनुपस्थितिमा दुतावासद्वारा उनीहरूको पक्षमा मुद्दा दर्ताका लागि कामदारहरुले पासपोर्टको प्रतिलिपी, कतार रहँदाको आवास स्विकृति (आरपी)को प्रतिलिपी, बक्यौता रकमको सुची, कम्पनीले उपलब्ध गराएको सेवा अवधिको पत्रसहित नेपाली दूतावास कतारको नाममा अख्तियारनामा (पावर अफ एटोर्नी) आवश्यक हुन्छ । ३ सय ८ जनाको कानुनी प्रकृया चल्दै गर्दा बाँकी २ सय १ जनाका कागजात पनि आइपुग्ने आशा राजदुतले ब्यक्त गरेका छन् । सो मुद्दामा दूतावासका तर्फवाट वकिल मोना अब्देल रहिमले जिम्मेवारी लिएकी छन् । ‘हामीसंग प्रयाप्त प्रमाण छन्, कामदारहरूको हक स्थापना हुने विश्वासमा छौं’ राजदुत डा. मिश्रले भन्दै आएका छन् । अदालतमा मुद्दा दायर गर्नका लागि आवश्यक शुल्क पछि सोधभर्ना गरिने गरी बैदेशिक रोजगार प्रवद्र्वन बोर्डले उपलब्ध गराउँछ ।
ती युवाहरू गत नोभेम्बर २००९ भित्र नेपाल फिर्ता गएकोमा कम्पनी हाल समापन (लिक्विडेशन)को क्रममा रहेको र कामदारहरुले पाउनुपर्ने बाँकी बक्यौता समापनकर्ता (लिक्विडेटर)ले हालसम्म पनि भुक्तानी नगरेको कारण सबै कामदारहरुको तर्फबाट दूतावासले सम्बन्धित अदालतमा मुद्दा दायर गरेको हो । सो कम्पनी समापन (लिक्विडेशन)को प्रकृया गत बर्ष १२ अगस्तमा शुरु भएको थियो । प्रत्येक नेपाली कामदारको कम्पनीसंग औसतमा ५ हजार रियालभन्दा बढि बाँकी बक्यौता रहेको छ । पिडित नेपाली कामदारहरूले तलव, वोनस, ग्राच्युटि, ओभरटाइम पे र विदाको रकम पाएका छैनन् । सवै नेपाली कामदारहरुको कूल बक्यौता रकम २५ लाख रियाल अर्थात ५ करोड रुपैयाभन्दा बढी रहेको नियोगले जनाएको छ ।
५ सय ९ जना नेपाली कामदारहरु फोरमेन, सुपरभाइजर, इलेक्ट्रिसियन फोरमेन, ड्राइभर, इलेक्ट्रिसियन, सेक्युरिटी गार्ड, फर्क लिफ्ट अपरेटर, सिजर अपरेटर, मेसिन अपरेटर, स्टोर किपर, वाचमेन, क्याम्प सुपरभाइजर, सिफ्ट इन्चार्ज लगायतका कामहरूका साथै अधिकांस निर्माण मजदुर र स्क्याफोल्डिङ मजदुरकारुपमा कार्यरत थिए ।
Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed