लगानी नपाएपछि चीज कारखाना बन्द
मेचीनगर अनलाइन
|
Friday, October 8, 2010
|
0 comments
इलाम, २२ असोज लागतअनुसारको बजार र लगानी अभावका कारण इलामका सरकारी चिज कारखाना बन्द भएका छन् । सरकारी लगानीमा सञ्चालन भइरहेका ४ कारखाना निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा ६ महिनादेखि बन्द रहेका हुन् ।
दुग्ध विकास संस्थानअन्तर्गत सञ्चालित पशुपतिनगर, पुवामझुवा, माइपोखरी र राँकेमा रहेका कारखानाले अहिले चिज उत्पादन गरेका छैनन् । अवस्थामा सुधार नआएकाले कारखाना लामो समय
बन्द छन् । 'निजी लगानीमा खुलेका कारखानासँग प्रतिस्पर्धा गर्न सरकारी कारखाना अक्षम भए,' पशुपतिनगर चिज केन्द्रका गोपाल भट्टराईले भने, 'विगत वर्ष चिजको बजार हेरेर उत्पादन केन्द्र विस्तार भएका थिए तर अहिले बजार र मूल्य दुवै घटेकाले समस्या देखिएको हो ।' चिज उत्पादन रोके पनि कारखाना पूर्ण रूपमा बन्द भने नगरेको उनले बताए ।सरकारी कारखाना बन्द हुनुमा निजी चिज कारखाना खुल्नु मात्र नभई चिजको बाह्य बजार नहुनु पनि हो । उत्पादित चिज अन्तर्राष्ट्रिय बजारमा जान नसक्नुले पनि चिज कारखानाले आम्दानी लिन नसकेका हुन् । चिजको अन्तर्राष्ट्रिय बजारका लागि सरकारले प्रयास नगर्नु लगानी पनि नगरेका कारण कारखाना बन्द गर्नुपर्ने अवस्था भएको सञ्चालकको भनाइ छ । 'उत्पादन गर्न गाह्रो छैन तर व्यापारका लागि भने सरकारी स्तरबाटै पहल हुनु जरुरी छ,' भट्टराईले भने, 'निजी कारखानासँग प्रतिस्पर्धी वातावरण पनि हुनुपर्छ ।'
कारखानाले दैनिक ८ सय किलोसम्म चिज उत्पादन गर्दै आएका थिए । कारखाना बन्द भएपछि स्थानीय हजारौँ किसान दूध बेच्न नपाएर समस्यामा छन् भने दूध संकलनका लागि खट्ने सयौँ व्यवसायी पनि बेरोजगार बनेका छन् । व्यवसायीले गाउँमा उत्पादित दूध घोडामा बोकाएर कारखानासम्म पुर्याउने गरेका थिए ।
कारखानाले गुणस्तरीय चिज उत्पादन गरे पनि काठमाडांै, पोखरालगायतका बजारबाहेक अन्य बजारमा जान नसक्नु, बन्द, हड्तालजस्ता गतिविधिले निरन्तरता पाउँदा चिज कारखानालाई असर पुगेको हो । पशुपतिनगर चिज उत्पादन केन्द्रमा दैनिक २ हजार ७ सय लिटर दूध संकलन हुने गरेको थियो । कारखाना बन्द भएपछि संकलित दूध दुग्ध विकास आयोजना विराटनगर पठाउने गरेको कारखानाले जनाएको छ । कारखाना सञ्चालनमा हुँदा पुवामझुवामा सञ्चालित रक्से चिज कारखानामा दैनिक ३ सय लिटर, माइपोखरी चिज कारखानामा दैनिक ९ सय लिटर र राँके चिज कारखानामा दैनिक १ हजार १ सय लिटरसम्म दूध संकलन हुँदै आएको थियो ।
सरकारी कारखानाले निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसकेको कारण देखाएका छन् भने निजी कारखानाले चिज उत्पादन र बिक्री अवस्था दयनीय भएको बताएका छन् । बजार अभावकै कारण उत्पादन लागतअनुसारको मूल्य नपाएको गुनासो निजी कारखानाको छ । निजी कारखानाले समेत उत्पादित चिजको मूल्य बढाउन माग गर्दै सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । दूधको बढ्दो मूल्य, बजार अभाव र उत्पादनअनुसारको चिजको मूल्य नहुँदा सरकारी र निजी लगानीमा खुलेका दुवै कारखाना समस्यामा परेको उनीहरूको भनाइ छ । उत्पादित चिजको बजारका लागि नेपालमा मात्र भर पर्नुपर्दा लगानी र नाफा कमाउन नसकेको निजी कारखाना सञ्चालकको गुनासो छ ।
संस्थानअन्तर्गतको उत्तरी नयाँबजारमा रहेको कारखाना भने हाल सञ्चालनमा छ । सो कारखानाले पशुपतिनगर कारखानासरह नै चिज उत्पादन गरिरहेको छ । बन्द कारखानाले सरकारी सहयोग पाए तत्कालै उत्पादन सुरु गर्ने बताएका छन् ।
Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed