धारा छ, पानी छैन
मेचीनगर अनलाइन
|
Thursday, November 25, 2010
|
2 comments
भीम चापागाई इलाम, १० मंसिर
जिल्लाको पश्चिमी क्षेत्रमा देउमाइखोप मुनाले खानेपानी आयोजना निर्माण सम्पन्न भएको ११ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । उपभोक्ता समितिको लापरबाहीले निर्माण भएको ११ वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको हो ।
जिल्लाका पश्चिमी चमैता, पुवामझुवा, साखेजुङ, शान्तिडाँडा र मंगलबारेका लागि सञ्चालन गरिएको आयोजनाको रकम निर्माण तथा उपभोक्ता समितिले नै हिनामिना गरेको स्थानीयको आरोप छ । ०५६ सालमा कुल दुई करोड ११ लाख ४९ हजार रुपैयाँ लागतमा निर्माण भएको खानेपानी योजनामा रकम हिनामिना गरी उपभोक्ता समितिले आयोजना अलपत्र पारेको स्थानीयको दाबी छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इलामको सक्रियतामा निर्माण भएको आयोजनाले पाँच गाविसका लागि एक सय
२५ धारासमेत निर्माण गरेको छ । तर, धारामा पानी नआई धारा जीर्ण बन्दै गएको स्थानीय शेखर रिजालले बताए । 'करोडाँै खर्चेर पनि अहिले धारामा पानी चुहिएको छैन,' रिजालले भने, 'अहिले धारा नै भत्किएर लथालिंग हुन लागिसकेका छन् ।'आयोजनाअन्तर्गत मंगलबारेमा मात्र ७५ धारा निर्माण गरिएको थियो । चमैताको देउमाइखोपको मुनालेखोल्सीमा मुहान भएको आयोजनाका सबै धाराको अवस्था उस्तै छ । आयोजनाका लागि २८ दशमलव ८ किलोमिटर ट्रान्समिसन लाइन र ४३ किलोमिटर वितरण लाइन जडान गरिएको छ । खानेपानी आयोजनाको मर्मत खर्च भनेर बारम्बार एक सयदेखि हजार रुपैयाँसम्म तिरिरहे पनि पनि देख्न नपाएको उपभोक्ताहरू बताउँछन् । 'स्वच्छ खानेपानी पिउन पाइन्छ भनेर महिनौँ खट्याँै, तर अहिले धारामा पानी नै झरेन,' मंगलबारेका अशोक प्रधानले भने, 'यसको दिगो समाधान हुन सकेन ।' उपभोक्ता समितिले मापदण्ड र योजनाअनुरूपको काम नै नगरेको प्रधानले आरोप लगाए ।
आयोजनाको रकम हिनामिना भएको भन्दै छानबिनका लागि स्थानीय उपभोक्ताले माग गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर निरञ्जन खनालको उपस्थितिमा ०६६ जेठ ७ गते मेघप्रसाद चौलागाइर्ंको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति तथा जाँचबुझ समितिसमेत गठन गरिएको थियो ।
समितिले १४ लाख २६ हजार नौ सय रुपैयाँ निर्माण समितिले मात्र खर्च गरेको उल्लेख गरेको छ । यता, निर्माण समिति चमैताका अध्यक्ष रहेका देउप्रसाद राईले भने योजना निर्माण गर्दा रकम हिनामिना नगरेका दाबी गरेका छन् ।
आयोजना नै अलपत्र भएपछि आयोजनाले मंगलबारेमा निर्माण गरेको पानीको ट्याङ्की झाडीले छोपेको अवस्थामा छ ।
Filed Under: रिपोर्ट

तपयँहरु यी समाचार कसरी संकलन गर्नुहुन्छ
श्रोत नखोली यसरी समाचार र्सार्वजनिक गर्न मिल्दैन होल ।
समाचार र्सार्वजनिक गर्दा श्रात खेल्नुभए राम्रो हुनेछ ।
कोकीला जी सुझावको लागि धन्यवाद तर तपाईले हेर्नुभएनछ् । त्यो समाचारको अन्त्यमा त्यसको स्रोत उल्लेख गरिएको छ (Nayapatrika) । र त्यहाँ क्लिक गर्दा कहाँबाट सो समाचार तानिएको हो त्यसको ओरिजिनल स्रोत खुल्ने गर्दछ । एकचोटी हेर्नुहोला । र अन्त्यमा हाम्रो बेवसाईट निरन्तर भिजिट गरेर कमी कमजोरीहरु औलाईदिनुहोला । धन्यवाद