हात नहुँदैमा के भो र !
मेचीनगर अनलाइन
|
Wednesday, November 10, 2010
|
0 comments
खुट्टाले लेखेर के नै गर्न सकिएला र ? भन्नेहरूका लागि सुशीला ढकाल गतिलो उदाहरण भएकी छन् । स्याङ्जा पुतलीबजारकी २८ वर्षीया ढकाल खुट्टाले लेखेरै सरकारी स्थायी जागिरे हुन सफल भएकी छन् । ०६५ सालमा लोकसेवा आयोगको विज्ञापनमा सफल भई उनी अहिले काठमाडौंस्थित आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्बर ३ लाजिम्पाटमा नायब सुब्बा पदमा कार्यरत छिन् ।
'सानैदेखि मेहनत गरेर खुट्टाको सहाराले पढ्ने गर्थें,' उनले भनिन् । मध्यमवर्गीय परिवारकी सुशीलाको जन्मँदै दुवै हात थिएनन् ।
उनी आफ्नो सफलताको पछाडि बुवा नेत्रप्रसाद र आमा लालकुमारीलाई जस दिन्छिन् । अशक्त छोरीलाई अभिभावकले शिक्षा दिएपछि उनको सम्भावनाको ढोका खुलेको हो । आफ्नो कार्यालयमा खुट्टाले फटाफट काम गरिरहेका बेला उनले बुवाआमालाईर सम्झिदै भनिन्, 'उहाँहरूको माया र प्रेरणाले मैले यो सफलता पाएँ ।'
सुशीलाले कम्प्युटरमा आयकर, मूल्य अभिवृद्धि करको बक्यौता राख्ने र जाँच गर्दै आएकी छन् । 'अरूले जसरी हातले काम गर्छन्, म पनि त्यसरी नै खुट्टाले काम गर्ने गर्छु,' स्नातकोत्तरसमेत पढ्दै गरेकी सुशीलाले भनिन् ।
कार्यालयले सुशीलालाई सजिलो हुने गरी कुर्सी र कम्प्युटर व्यवस्था गरिदिएको छ । उनले खुट्टाले कम्प्युटर चलाउनेदेखि हस्ताक्षर गरेको देखेर कार्यालयमा आउने सेवाग्राहीसमेत अचम्म पर्ने गर्छन् ।
०५७ सालमा कान्तिपुर दैनिकमा उनको समाचार आएपछि काठमाडौंको मैतिदेवीस्थित महिला छात्रावासकी सञ्चालिका विष्णु थापाले उनलाई निःशुल्क स्नातकसम्म पढाएकी हुन् । उनले त्यहीं बसेर एक वर्ष लोकसेवाको परीक्षाको तयारी गरेकी हुन् ।
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed