कटुस बेचेर तिहार खर्च
मेचीनगर अनलाइन
|
Tuesday, November 2, 2010
|
0 comments
ताप्लेजुङ निगुरादीन–३ की याङ्गी शेर्पा तिहार खर्च जुटाउनको लागि जङ्गलबाट कटुस टिपेर सदुमुकाम फुङलिङमा बेच्न व्यस्त छिन् । फुङलिङ बजारमा प्रत्येक मङ्गलबार र शनिबार लाग्ने हटियामा शेर्ष एक दिनको लामो पैदलयात्रा तय गर्दै हटिया लाग्ने अघिल्लो दिन नै सदरमुकाम आउँछिन् र बिहानै बाट धोक्रोभरि कटुस ठड्याएर मानाको ४५ देखि ५० रुपैयाँसम्म बेच्छिन् । उनले कटुस बेचेर घर खर्च र चाडपर्वमा लाग्ने खर्च टार्दै आएकी छिन् ।
कटुसा टिप्न केटाकेटीदेखि बुढाबुढी सबै जङ्गल जाने भएकाले अहिले जिल्लाका अधिकांश गाउँ रित्तै छन् । विद्यार्थी कटुस टिप्न व्यस्त भएका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि घटेको शिक्षक बताउँछन् ।
यो वर्ष अघिल्लो वर्षको तुलनामा केही दशक यताकै सबैभन्दा बढी कटुस फलेको छ । कटुस पात्ले जातको रुखमा फल्ने एक प्रकारको मिठो फल हो । बाहिर काँडाले भरिएको भए पनि भित्र भएको फललाई भुटेर वा काँचै खाने गरिन्छ । काँचो कटुसलाई बजारमा ४५ रुपैयाँ र भुटेको ५० रुपैयाँसम्म बिक्री हुँदै आएको छ । माथिल्लो अथवा लेकालि क्षेत्रमा सित्तैमा पाइने कटुस खोज्ने प्रत्येकले दिनमा पाँच पाथिदेखि ७ पाथिसम्म कटुस सङ्कलन गरी सात सय रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । तिहारमा चेलिबेटीले माइतीलाई खुवाउने परिकारमध्धे कटुसलाई पनि एक मुख्यपरिकारलको रुपमा लिने गरिएकाले तिहारको समयमा कटुसको अत्याधिक विक्री हुन्छ ।
ताप्लेजुङमा मात्र नभएर अहिले सङ्खुवासभा, धनकुटा, पाँचथर र तेह्रथुममा पनि अत्याधिक मात्रामा कटुस पाइने भएको कारण यी जिल्लाका बासिन्दाले कटुसबाट राम्रो आम्दानी लिने गरेका छन् । यहाँ सङ्कलन गरिएको कटुस विक्रीका लागि झापाको बिर्तामोडसम्म लैजाने गरिएको छ ।
Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed