तराईलाई सिँगार्दै छठ
मेचीनगर अनलाइन
|
Saturday, November 13, 2010
|
0 comments
नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सकिएलगत्तै तराई क्षेत्रमा छठ पर्वको रौनकता सुरु भएको छ । दिपावलीको झिलिमिली र रमाइलोबीच प्रारम्भ हुने छठ पर्व शरद ऋतुको कात्तिक शुक्ल षष्ठीका दिन मुख्य रुपले मनाइन्छ । भाइटिका सकिएको तेस्रो दिनबाट छठको सुरुआत हुन्छ । तराईबासीहरुले छठ पर्वलाई सबैभन्दा महान् पर्वका रुपमा मनाउँदै आएका छन् ।षष्ठी तिथिममा मनाइने भएकाले छठ पर्वलाई
स्थानीय तराई भाषमा छठी, छठ, छइठ र छैट समेत भन्ने गरिन्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई क्षेत्रमा छठ पर्वको विशेष उल्लास रहने गरेको छ । पछिल्लो समय यो पर्वले मधेसी र पहाडी समुदायबीच आपसी घनिष्टतासमेत बढाएको छ । हिजोआज पहाडी समुदायले पनि मधेसीभैmँ छठ पर्व मनाउँदै आएकाले उनीहरुबीच धार्मिक सहिष्णुता, सद्भाव र एकता कायम हुँदै आएको छ । यो पर्वमा नदीकिनार, तालतलाउ तथा पोखरी सिँगारेर झकिझकाउ पारन्छि । छठ पर्वलाई शक्तिको स्रोत सूर्याेपासनाको पर्वको रुपमा लिइन्छ । केराको थामले सजाइएको, दियो र मिलिक मिलिक बत्ती बालेर सिँगारिएको नदीकिनार साँच्चिकै हेर्न लायक हुन्छ । पूजास्थल बनाएर फिँजारिएको पूजासामग्री, परम्परागत लोकबाजा ढोलपिपहीको वादन र लोकनृत्यले छठ पर्वकको दृश्य मनमोहक देखिन्छ ।छठ पर्व परिवारका जेष्ठ, स्वस्थ र योग्य महिलाको नेतृत्वमा सम्पन्न गरिन्छ । यो सम्पूर्ण परिवारका सदस्य मिलेर मनाइने सामुहिक पर्व हो । परिवारको कल्याण, रोग निदान, परिवारमा सुख समृद्धि र सन्तान प्राप्तिको अभिलाषा सहित चार दिनसम्म सूर्यको आराधाना गरी छठ पर्व मनाउने परम्परा चलिआएको छ । कात्तिक महिना सुरु भएदेखि नै व्रतालुहरु शाकाहारी भोजन ग्रहण गर्ने गर्छन् । घरका सबै सदस्यले माछामासु, प्याज लसुन सेवन गर्दैनन् । छठ पर्वमा लोकधुन र गीतको पनि विशेष महत्व रहेको पाइन्छ ।
कांचहि बाँस के टोकरिया हो,
दीनानाथ, टोकरी लचकत जाय,
बाट मे पुछए जे बटोहिया,
टोकरी केकर जाय ?
आन्हर होएबे र बटोहिया,
अरक टोकरी छठिमाय के जाय............
यस्तैखाले लोकगीतले छठ पर्व आगमनको संकेत गर्छन् । छठ पर्वका अधिकांश गीतमा सूर्यको महिमा उल्लेख गरिएको पाइन्छ । तराईका मधेसी बस्तीमा तिहारअघिबाटै छठी माताको पुजन भाव झल्किने गीत घन्किन थाल्छन् । नदीकिनारमा बनाइएको पूजास्थलमा बज्ने गीतले उत्साह थप्दै लैजान्छ । अधिकांश व्रतालु साँझदेखि भोलिपल्ट बिहानसम्म गीत गाएर रातभर नदीकिनारमै जाग्रम बस्छन् । अत्यधिक चिसो हुने भए पनि धार्मिक आस्थाका कारण व्रतालुमा ऊर्जा भरिएको महसुस हुन्छ ।
चार दिनसम्म धुमधामसाथ मनाइने छठ पर्वको पूजाविधि भने कात्तिक शुक्ल चौथीबाट शाकाहारी भोजन खाई पञ्चमीमा दिनभरि उपवास बसेर माटोले बनाएको नयाँ चुलोमा खीर, पुरी लगायत पकवान पकाएर सुरु हुन्छ । यसरी पकाइएका पकवान चोखो कोठामा केराको पातमा विभिन्न किसिमका फलफूल राखेर कोठा थुनेर व्रतालुले पूजा गर्छन् । छठको यो दोस्रो दिनलाई खरना भन्ने गरिन्छ । यसरी तयार गरिएको प्रसाद व्रतालु स्वयम्ले खाई सपरिवारलाई बाँड्ने परम्परा रहेको छ । छठ भनेको सूर्यलाई अर्घ दिने पर्व हो । यो बेला अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । खरनाको भोलिपल्ट षष्ठी तिथि छठको मुख्य दिन हो ।
नजिकैको जलाशयमा गई विशेष आराधना र बन्दना गर्दै बाँसको कुइनामा राखिएको मिष्ठान्न र फलफूलसहित अस्ताइरहेको सूर्यलाई दूध र जलले अर्घ दिइन्छ । त्यस्तै भोलिपल्ट सप्तमीको दिन उदाइरहेको सूर्यलाई पनि सोही तरिकाले अर्घ दिएपछि विधिवत् रुपमा छठको समापन हुन्छ । पानी र चोखो दूधको अर्घ दिन पूर्वका भद्रपुर, धुलाबारी, दमक, बिर्तामोड, विराटनगर, धनुषा, राजविराज, लहान लगायत दर्जनौँ स्थानका जलाशयमा तीर्थालुको अत्यधिक चाप रहेको हुन्छ । जीवनको अन्त्यतिर पुगेका वृद्धवृद्धालाई माया र सम्मान गर्न समेत सिकाउने यो पर्वमा ठेकुवा, भुसुवा, फलफूल, मिठाई, गेडागुडी, सुपारी पूजामा प्रयोग गरिन्छ । विपन्न र सम्पन्न दुवै वर्गले एकै किसिमले बिनाभेदभाव मनाइने भएकाले मैथिली समाजमा यो पर्वलाई छुवाछूतविरोधी पर्व समेत भनिन्छ ।
लेखक झापाका युवा पत्रकार हुन् ।
Filed Under: अभिव्यक्ति

0 comments
Trackback URL | Comments RSS Feed