रेमिट्यान्स भित्र्याउनेमा नेपाल उत्कृष्ट पाँचमा
मेचीनगर अनलाइन
|
Thursday, November 11, 2010
|
0 comments
गोकर्ण अवस्थी,काठमाडौ, कार्तिक २४ - रेमिट्यान्सले अर्थतन्त्रमा ओगटेको हिस्साको आधारमा नेपाल संसारकै उत्कृष्ट पाँच देशमा परेको छ । विश्व बैंकले संसारभर आप्रवासको अवस्था र विदेशिएका नागरिकले आफ्नो देशमा पठाउने रकम (रेमिट्यान्स) बारे गरेको अध्ययनले उक्त तथ्यांक सार्वजनिक गरेको हो । सन् २०१० मा नेपालमा भित्रिने रेमिट्यान्स करिब २ खर्ब ६२ अर्ब (३ अर्ब ५० करोड अमेरिकी डलर) पुग्ने अनुमान प्रतिवेदनमा छ । यो रकम नेपालको अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) को २३ प्रतिशत हो । सन् २००९ मा कामका लागि विदेशिएका नेपालीले २ खर्ब २३ अर्ब रुपैयाँ नेपाल पठाएका थिए । ताजकिस्तान, टोंगा, लिसोथो र माल्दोभाको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा नेपालभन्दा बढी छ । नेपाल पाँचौं स्थानमा छ ।
सन् २०१० मा विश्वव्यापी रूपमा रेमिट्यान्स प्रवाह ४ सय ४० अर्ब डलर पुग्ने अनुमान विश्व बैंकको छ । दक्षिण एसियामा रेमिट्यान्स अपेक्षाभन्दा बढी भएको प्रतिवेदनले जनाएको छ । सबैभन्दा बढी रेमिट्यान्स पठाउने देशमा अमेरिका, साउदी अरेबिया, स्विट्जरल्यान्ड र जर्मनी छन् । सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देशको सूचीमा अग्रस्थानमा भारत छ । त्यसपछि चीन, मेक्सिको, फिलिपिन्स र प|mान्समा बढी रेमिट्यान्स भित्रिन्छ । सन् २०११ र २०१२ मा आप्रवाहको वृद्धिदर थप बढी हुने अनुमान प्रतिवेदनमा छ । नेपालमा भने पछिल्ला दुई वर्षमा रेमिट्यान्सको वृद्धिदरमा कमी आएको छ ।
आर्थिक वर्ष २०६६/६७ मा रेमिट्यान्सको वृद्धिदर १० प्रतिशत रह्यो । अघिल्लो वर्ष यो वृद्धिदर ४७ प्रतिशत थियो । चालू आर्थिक वर्षमा पनि रेमिट्यान्स आप्रवाह अपेक्षाकृत बढ्न सकेको छैन । आर्थिक वर्ष २०६७/६८ को पहिलो दुई महिनामा ३८ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल आएको छ । गत वर्षको यसै अवधिमा यो अंक ३४ अर्ब रुपैयाँ थियो ।
द्वन्द्वका बेला समेत रेमिट्यान्सले धान्दै आएको अर्थतन्त्रमा प्रवाह अपेक्षाभन्दा कम भएपछि गत वर्षदेखि अर्थतन्त्रमा विभिन्न खाले समस्यासमेत देखिन थालेका छन् । गत वर्षदेखि बैंकिङ क्षेत्रमा तरलता अभाव हुँदै भुक्तानी सन्तुलनसमेत ऋणात्मक रहँदै आएको छ । गत वर्ष व्यापार घाटा ३ खर्ब १७ अर्ब रुपैयाँ पुग्यो । यसअघि रेमिट्यान्सले यो घाटा पूर्ति गर्दै आए पनि गत वर्षदेखि भुक्तानी सन्तुलन ऋणात्मक भएको थियो । फागुनमा साढे २३ अर्ब रुपैयाँले भुक्तानी सन्तुलन घाटा पुगेको थियो ।
चालू आर्थिक वर्षको भदौमा पनि भुक्तानी सन्तुलन घाटा ४ अर्ब ३६ करोड रुपैयाँ छ । असारमा केही सहज भएको तरलताको अवस्था फेरि असहज हुँदैछ । नेपालको गरिबी निवारणमा पछिल्लो डेढ दशकयता रेमिट्यान्सको योगदान उल्लेख्य रहँदै आएको छ । जीवनस्तर सर्वेक्षणले निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याको प्रतिशत ४२ प्रतिशतबाट ३१ प्रतिशतमा झर्नुमा रेमिट्यान्स प्रमुख कारण रहेको जनाएको छ ।
गत साता मात्रै सार्वजनिक भएको २० औं मानव विकास प्रतिवेदनले पनि मानव विकास दु्रत गतिमा गर्ने मुलुकमा नेपाल पर्नुमा रेमिट्यान्सको समेत योगदान रहेको देखाएको छ । रेमिट्यान्सका कारण अर्थतन्त्र चलायमान हुने र जनताको क्रय शक्ति बढेकाले आर्थिक सुधारका लागि सरकारलाई कम दबाब पर्दै गएको छ ।
News Source : Kantipur
Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed