ललिपप बनाएर पढाइ खर्च
मेचीनगर अनलाइन
|
Thursday, December 2, 2010
|
0 comments
इलाम, १७ मंसिर
जिल्लाको पूर्वी पञ्चकन्यास्थित करफोक विद्यामन्दिरमा मानविकी संकायअन्तर्गत स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सोयाङकी रेनुका चापागाईंलाई पढ्नका लागि आर्थिक समस्या छैन । आर्थिक अभावकै कारण रोजगारीमा लागेकी चापागाईं विद्यालयको पढाइलाई असर नपुग्नेगरी काममा खटेर पढाइ खर्चको जोहो गर्छिन् ।
पञ्चकन्या ललिपप उद्योगमा ०५६ सालको जेठ महिनादेखि काम गर्दै आएकी उनी गरिबी र अभावकै कारण उद्योगमा काम गर्न बाध्य भएको बताउँछिन् । 'घरको आर्थिक अवस्था कमजोर भएकै कारण मेरो पढाइ रोकिन लागेको थियो, अहिले यहाँ काम गर्न थालेपछि सजिलो भएको छ,' उनले भनिन्, 'पढाइबाट बचाएर केही रकम घर पठाउन पनि पुग्छ ।'
रेनुकाकै सहपाठी गीता तिम्सिनाको पनि अवस्था उस्तै छ । डेरामा बसेर क्याम्पस पढ्दै गरेका यी छात्राहरूलाई आफ्नै खुट्टामा उभिने मात्र नभई परिवारमा खर्च पुर्याउनुपर्ने बाध्यता छ । 'पढाइका लागि खर्च आफैँ नजुटाए मेरो पढाइ सपना मात्र हुन्छ,' गीता भन्छिन्, 'घरको आर्थिक अवस्थासँग जुधेर क्याम्पस पढ्नु चानचुने कुरा होइन रहेछ ।'
रेनुका र गीता मात्र होइन, अहिले यस उद्योगमा उनीहरू जस्ता धेरै छात्रा पढाइका लागि खर्च जुटाउन संघर्ष गरिरहेका छन् । बिहान ६:३० बजेदेखि १०:३० बजेसम्म क्याम्पस जानु र मध्याह्न १२ बजेदेखि साँझसम्म काम गर्नु उनीहरूको दैनिकी हो । दैनिक पाँच घन्टा काम गर्दा पढाइका लागि खर्च मात्र नभई घरमा पठाउनसमेत पुग्ने गरेको उनीहरू बताउँछन् । आफूहरूले आफैँ काम गरेर पढेको देखेपछि सँगैका साथीहरूले पनि आफूजस्तै काम गर्ने रहर सुनाएको गीताले बताइन् ।
यी छात्राले महिनामा एक हजार पाँच सयदेखि चार हजार पाँच सय रुपैयाँसम्म कमाउँछन् । दूध पकाएर बनाइएको कुराउनीलाई निश्चित आकारमा काटेर प्याक गर्नु छात्राहरूको काम हो । उनीहरू दिनमा प्रतिव्यक्ति डेढ सयसम्म यस्तो प्याक बनाउँछन् ।
छात्राहरूका लागि रोजगारीमा लागेर पढाइ खर्च जुटाउने अवसर पञ्चकन्या-४ माघेस्थित जनहित कृषि सहकारी संस्थाले मिलाइदिएको हो । उद्योगमा अरू गृहिणीलाई बिहान १० बजेदेखि काममा आउन अनिवार्य गरिए पनि विद्यार्थीलाई दैनिक दुई घन्टा छुट दिएर १२ बजेदेखि मात्र आउने वातावरण मिलाइएको छ । विद्यार्थीले काम मिहिनेतका साथ गरिरहेको संस्थाका व्यवस्थापक ठाकुर खतिवडाले बताए ।
उद्योगमा कार्यरत १९ मध्ये प्रायः सबै महिला छन् । यस उद्योगबाट मासिक सातदेखि १० हजार प्याकसम्म ललिपप बिक्री हुने गरेको छ । उद्योगले दैनिक एक सय ६० देखि दुई सय लिटरसम्म दूध संकलन गरी ललिपप उत्पादन गर्दै आएको छ । इलामको पञ्चकन्याबाहेक साँखेजुङ, फिक्कल, पशुपतिनगरलगायतका गाउँमा ललिपप उद्योग सञ्चालनमा छन् । यहाँ उत्पादित ललिपप विषेशगरी इलाम आउने पर्यटकले कोसेलीका रूपमा लैजाने गर्छन् ।
Source :- Nayapatrika
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed