बुढेसकालमा चौतारा बास
मेचीनगर अनलाइन
|
Wednesday, December 8, 2010
|
0 comments
रोशन साँवा, इलाम, मंसिर
६५ वर्षीय पहलमान मगर आँखा देख्दैनन्। उनकी पत्नी ६४ वर्षीया पदममाया कान सुन्दिनन्। बुढेसकालले छुँदै लगेपछि काम गर्नसक्ने अवस्था भएन। परिवारजनले पनि दुर्व्यवहार गर्न थाले। त्यसपछि त अहिले ती मगर दम्पतीको घरसंसार भन्नु नै इलाम सदरमुकामस्थित लाँकुरी चौतारा बनेको छ।इलामकै लुम्दे- ३ का स्थायी बासिन्दा पहलमान र पदममाया साउनदेखि लाँकुरी चौतारामा बसिररहेका छन्। एक छेउमा ओढ्ने ओछ्याउने थुपारेका छन्। भित्तामा झोला र लुगा झुण्ड्याएका छन्।
आँखा उपचारका लागि जसोतसो गरेर झापाको चारपाने पुगेपनि पैसाको अभावमा उपचार नभएपछि फर्केर आउने क्रममा उनीहरु चौतारामा बस्न थालेका हुन्। ‘आफन्त र साथीभाइ भनेको धन र बल हुँदामात्र रहेछ,' पहलमानले भने, 'केही नभएपछि साह्रै दुःख पायौं। अझै कति पाउनुपर्ने हो?'
मगर दम्पतीका एउटी छोरी थिइन् तर उनले १५ वर्षकै उमेरमा ज्यान गुमाइन्। ‘भगवानले अरु छोराछोरी दिएनन्,' पदममायाले भनिन्। त्यसपछि मगर दम्पती भाइ सन्तवीरसँग बस्दै आएका थिए। ‘ठूलो परिवार भएर होला हामीलाई उसले राम्रो गरेन। उसको परिवारसँग बस्न नै सकेनौं,' पहलमानले भने, ‘हाम्रो आफ्नै घर छैन। अलिकति भएको जग्गा पनि भाइले कमाउँदैछ तर फलेको अन्न हामी पाउँदैनौं।'
उनका भाइको नौ जनाको परिवार छ। गरिखान नसक्ने भएपछि एक्लिनु परेको उनीहरुले बताए। ‘जग्गा भाइले कमाउँछ, उसैले खान्छ,' पहलमानले भने, 'हामी त बनिबुतो गर्न पनि सक्दैनौं।'
लाँकुरी चौतारामा ती दम्पतीलाई छेउछाउका परिवार तथा केही व्यक्तिले खानेकुरा दिने गरेका छन्। ‘यहाँ इष्टमित्र धेरै रहेछन्। खानेकुरा दिन्छन्। ओढ्नेओछ्याउने लुगा पनि दिएका छन्,' पहलमानले बताए, 'बाटो हिंड्ने र हेर्न आउनेले बेला-बेला दिने पैसाले खानेकुरा किन्छौं।'
पति आँखा नदेख्ने भएकोले पदममायाले बेला-बेलामा डोर्याउँदै बजार डुलाउँछिन्। ‘चौतारामा पनि हामीलाई अब धेरै दिन बस्न नदिने रे,' पहलमानले गुनासो गरे, 'खोइ अब कता जाने हो?'
Source :- Nagariknews
Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed